
विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्ने छन् । यस्तै कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र सदस्यहरूले सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प्रवर्द्धन गर्नेछन् ।
सम्झौतापछि कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिजले आफ्ना सदस्यहरूबीच प्रतिस्पर्धात्मक भावना र उत्साह बढाउने उद्देश्यले ई-कार्टिङ प्रतियोगिता आयोजना गरेको थियो । जसमा मुदित गोल्छा प्रथम तथा मयंक शाह प्रथम उपविजेता र उत्सव गोयल द्वितीय उपविजेता भए ।
कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज कोशीका सदस्य तथा विराट स्पोर्ट्स जोनका बोर्ड सदस्य धड्कन कटेलले आठ महिनाको योजनापछि एक महिनाअघि सेवा सुरु गरिएको जानकारी दिए । उनले यो केन्द्र युवाहरूको खेलकुद क्षमता विकासका लागि प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे ।
विराट स्पोर्ट्स जोनका प्रबन्ध निर्देशक तथा बोर्ड सदस्य हरि बजगाईंले युवालाई मोबाइल फोनको अत्यधिक प्रयोगबाट टाढा राखेर सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । आर्थिक अनिश्चितताको समयमा जोखिम मोलेर विभिन्न खेलका प्रशिक्षक नियुक्त गर्दै व्यवसाय सुरु गरिएको उनले उल्लेख गरे ।
कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज कोशीका अध्यक्ष सुसन प्रधानले उद्यमीहरूका लागि मानसिक सन्तुलन र विश्राम आवश्यक रहेको बताउँदै विराट स्पोर्ट्स जोनजस्ता खेलकुद केन्द्रहरूले व्यवसायिक जीवनसँगै स्वस्थ मनोरञ्जनको अवसर प्रदान गर्ने उल्लेख गरे ।
विराट स्पोर्ट्स जोनमा कोशी प्रदेशमै पहिलो पटक ई-कार्टिङ, फुटसल, क्रिक्सल, स्केटिङ तथा चाँडै सुरु हुन लागेको पिकल बल सुविधा एकै स्थानमा उपलब्ध गराइएको छ ।

संगालोखबर 













