
विराटनगर । विराटनगरमा भोलिबाट सुरु हुन लागेको ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी भएको जानकारी गराएको हो ।
विराटनगर-१ स्थित शान्ति चोकमा हुने एक्स्पोको उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले गर्नेछन् । एक्स्पोको उद्घाटन दिउँसो २ बजे हुने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।
एक्स्पोले कोशी प्रदेशसहित देशभरीका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन र सेवाहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने मोरङ उद्योग व्यापार संघका सचिव तथा एक्स्पो संयोजक अमित कुमार शारदाले बताए ।
एक्स्पोमा २ सय बढी स्टलहरू रहने छन् । जसमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान लगायत देशका विभिन्न उत्पादन तथा कला-संस्कृति, पर्यटन, शिक्षा, आदीको प्रर्दशनी हुने अध्यक्ष राठीले बताए ।
११ दिनसम्म चल्ने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायत विषयहरूमा थिमेटिक सेसन सञ्चालन गरिने छ । जसबाट सहभागीहरूले ज्ञान, सीप र अवसरहरू प्राप्त गर्ने अध्यक्ष राठीले जानकारी दिए ।
एक्स्पोमा विशेष आकर्षकका रूपमा जलपरीहरूको प्रर्दशनी, ओपेरा हाउसको ३० फिटे आकृतिसहित सेल्फी जोन, बाल उद्यान आदि राखिएको छ । यस्तै मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ । एक्स्पोमा करिब दुई लाख दर्शक आउने आयोजकको अनुमान छ ।

संगालोखबर 













