
विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि उनले यस्तो आदेश दिएका हुन् ।
विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिएका हुन् । सुरक्षा प्रमुख नोमका अनुसार सन् २०१७ मा डिभीमार्फत अमेरिका आएका ४८ वर्षीय पोर्चुगिज नागरिकले उक्त गोलीकाण्ड मच्चाएका थिए ।
ती व्यक्ति झन्डै दुई दशकअघि ब्राउन विश्वविद्यालयकै विद्यार्थी रहेको र पछि सोही कार्यक्रमअन्तर्गत ग्रीन कार्ड समेत प्राप्त गरेको पाइएको छ । नोमले यस्ता व्यक्तिहरूलाई देशमा प्रवेश अनुमति दिनु नै घातक भएको बताएकी छन् । अमेरिकी प्रशासनले यूएससीआईएसलाई निर्देशन दिँदै ’डिभी–१’ कार्यक्रममा तत्काल रोक लगाएको छ ।
गत हप्ता ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । आक्रमणपछि फरार रहेका ती सन्दिग्ध बिहीबार न्यू ह्याम्पसायरको एक भण्डारण गृहमा मृत फेला परेका छन् ।
सन् १९९० को दशकमा अमेरिकी संसद्ले सुरु गरेको डिभी कार्यक्रमले अमेरिकामा आप्रवासी दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजारभन्दा बढी भिसा उपलब्ध गराउँदै आएको छ ।

संगालोखबर 













