
काठमाडौं । अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई डिपोर्ट गरेको छ । बिहीबार दिउँसो एकैदिन उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।
डिपोर्ट हुनेमा ३ महिला र ७२ जना पुरुष छन् । उनीहरू अधिकांश अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि छन् । त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर, पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।
यसरी फर्किएकाहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बयान दिएका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् ।

संगालोखबर 













