संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम अन्यौलमा परेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो ।

Advertisement

राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम संचालन गर्ने योजना छ ।

सिधुवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हाक्तिखर्कको तल्लो भू-भागमा आँप उत्पादनको सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए ।

केन्द्रले मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै ब्लक कार्यक्रम संचालनका लागि निवेदन आह्वान गरेको थियो । तर कुनैपनि निवेदन नपरेपछि उक्त कार्यक्रम अन्यौलमा परेको ज्ञान केन्द्रले जनाएको छ ।

१५ दिनको म्याद सकिँदा पनि कार्यक्रम संचालनका लागि गाउँपालिकाबाट एउटै पनि आवेदन परेको छैन । तोकिएको मितिमा आवेदन नपरेपछि केहिदिनका लागि आवेदनको म्याद थप्ने तयारी भएको निमित्त प्रमुख रानाले बताए ।

कार्यालयले आँप खेतीका लागि कृषक समूह, कृषि सहकारी, जल तथा वन उपभोक्ता समिति, कृषि फार्म वा कम्पनीलाई प्रस्ताव पठाउन आव्हान गरेको थियो । आँप ब्लक संचालनका लागि गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरूलाई पटकपटक जानकारी गराइए पनि गाउँका किसानसम्म सूचना नपुगेको पाइएको छ ।

गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले आँप ब्लक संचालनका लागि कृषि शाखामार्फत किसान र कृषक समूहमा जानकारी पठाइए पनि ठूलो क्षेत्रफल चाहिने भएकाले थप छलफल आवश्यक रहेको बताए ।

खाली रहेका सामुदायिक वनमा समेत आँप खेती बिस्तारको संभावना अध्ययन गरि रहेको सुब्बाको भनाइ छ । बिरुवा र प्राविधिक सहयोग गरेर आँप प्रवर्द्धन कार्यक्रम संचालन गर्ने योजना रहेको अध्यक्ष सुब्बाले जानकारी दिए । ज्ञान केन्द्रले छथर जोरपाटी ३, ४ र ५ को तल्लो क्षेत्रमा यो कार्यक्रम संचालनको तयारी गरेको हो ।

वडा नम्वर ४ का वडाध्यक्ष टेकबहादुर तामाङले आँप खेती संचालनको मोडल बारे स्पष्ट नभएकाले अन्यौल भएको बताए । आँप ब्लक कार्यक्रमका लागि किसान र सरकारी निकायको लगानीको मोडेल र अन्य प्राविधिक विषयमा बुझिरहेको उनको भनाइ छ ।

गाउँपालिकाको सिधुवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ क्षेत्रमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । ज्ञान केन्द्रले सोहि जग्गा उपयोगमा ल्याउन आँप विकास ब्लक कार्यक्रम संचालन गर्न लागेको हो । यो ठाउँमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालनका लागि औद्योगिक ग्राम निर्माण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!