
विराटनगर । कोशी प्रदेशमा धान उत्पादन घटेको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा झण्डै २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो ।
गतवर्ष प्रदेशभरि ११ लाख २२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष ११ लाख दुई हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १९ हजार दुई सय ७२ मेट्रिक टनले कमी हो ।
गतवर्ष दुई लाख ७५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यो वर्ष दुई लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र खेती भएको थियो । झापामा यो वर्ष करिब २८ हजार टन धान उत्पादन घटेको छ ।
गतवर्ष तीन लाख ८२ हजार आठ सय १२ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष तीन लाख ५४ हजार तीन सय ५१ मेट्रिक टन मात्रै उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
मोरङमा गतवर्ष तीन लाख ३९ हजार टन धान उत्पादन भएकोमा यो वर्ष तीन लाख ३६ हजार नौ सय २० टन उत्पादन भएको छ । यस्तै सुनसरीमा गतवर्ष दुई लाख १७ हजार टन धान उत्पादन भएको थियो ।
यो वर्ष दुई लाख ११ हजार ६ सय आठ टन मात्रै धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्क छ । समयमा रोपाइँ हुन नसक्नु तथा भित्र्याउने बेलामा अत्याधिक वर्षा हुँदा धान उत्पादनमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ ।

संगालोखबर 












