
काठमाडौं । निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरिएको छ ।
समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने मङ्सिर २४ गते प्रकाशित हुनेछ । आवेदन दिएका राजनीतिक दलले आउँदो पुस १३ र १४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।
यस्तै, आउँदो माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगले जनाएको छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सदस्य निर्वाचित हुने प्रावधान छ ।

संगालोखबर 













