
विराटनगर । भारतको उत्तरप्रदेशको बलरामपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । आज बिहान बस ट्रकसँग ठोक्किँदा आगो लागेको थियो । सोही आगोमा जलेर तीन नेपालीको मृत्यु भएको जनाइएको छ ।
बसमा सवार अन्य २४ जना घाइते भएका छन् । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।
यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक आज बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् । ट्रकसँग ठोक्किएको बस करिब सय मिटर अगाडि पुगेर पुनः बिजुलीको पोलमा ठोक्किएको थियो ।
बिजुलीको पोल भाँचिएर बसमाथि खसेको र आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बस नेपाल-भारत सिमाना नजिकको सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको खुलेको छ ।

संगालोखबर 













