
विराटनगर । दिनहुँ जसो बालबालिका हराएका सूचना सामाजिक सञ्जालमा देखिन्छन् । प्रहरीमा पनि खोजीका लागि निवेदन दिइन्छ । तर फेला परेको जानकारी कमै मात्र पाइन्छ । मोरङमा पनि बालबालिका हराउने क्रम बढेको छ । कतिपय विद्यालयबाटै र कतिपय घरबाटै बेपत्ता हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म २४ जना बालक र ९१ जना बालिका गरी ११५ जना हराएका छन् । जसमध्ये १८ बालक र ७२ बालिकासहित ९० जना मात्रै फेला परेका छन् ।
२५ जनाको अवस्था अज्ञात छ । आर्थिक वर्ष २०८१/८२ मा ७२ बालक र २३७ बालिका गरी जम्मा ३०९ जना हराएका थिए । जसमध्ये ६६ जना बालक र २१५ बालिकासहित २८१ जना मात्रै फेला परे भने २८ जना अझै फेला नपरेका प्रहरीको तथ्याङ्कले देखाउँछ ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ८१ बालक र २०२ जना बालिका गरी २८३ जना हराएका थिए । जसमध्ये ८० जना बालक र १९९ बालिकासहित जम्मा २७१ जना फेला परेका छन् । १२ जना अझैपनि बेपत्ता छन् । प्रहरीको तथ्याङ्कले पनि बालबालिका हराउने क्रम बढेको देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बालकालिका विविध कारणले हराउने गरेका छन् । ‘सानो उमेरमा कौतुहलता हुने, सामाजिक सञ्जालको दुरुपयोग, परिवारिक वातावरण, साथीभाइहरूलाई तुरुन्तै विश्वास गर्ने स्वभावका कारण बालबालिकाहरू ललाइफकाइमा पर्छन्’, उनले भने, ‘जसका कारण बालबालिका हराउने क्रम बढेको अनुमान छ ।’
बालबालिकाहरू हराउने क्रम बढेसँगै अभिभावक र विद्यार्थीहरूका लागि सचेतनाका कार्यक्रम सुरु गर्न लागिएको उनले बताए । हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको अति संवेदनशिल भएर खोजतलास गरिएको एसपी कटवालले बताए ।
‘हराउने क्रम अहिलेमात्र नभएर विगतका वर्षहरूमा पनि थियो । अहिले पनि हराएका सूचनाहरू प्राप्त भइरहन्छन्’, एसपी कटवालले थपे, ‘हराएका बालबालिका तथा मानिसको खोजी गर्न छुट्टै प्रहरी अधिकारी तोकेर स्थानीय तह र अभिभावकहरूसँग समन्वय गरेर अगाडि बढ्छौँ ।’
हराएका मध्ये अझै धेरैको अवस्था अज्ञात रहेको उनको भनाइ छ । बालबालिका हराउने विभिन्न कारण रहेकाले अभिभावक र विद्यालय सचेत हुनुपर्ने उनले बताए । उनले अभिभावकले आफ्ना छोराछोरीको साथीसंगत र उनीहरूका गतिविधि नियाल्न आवश्यक रहेको उल्लेख गरे ।
बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश विराटनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७९० जना बालबालिका हराएकामा १४ जिल्लाका प्रहरी कार्यालयबाट खोजतलास हुँदा ७१६ जना मात्रै फेला परेका छन् । अन्य ७४ जनाको अवस्था अझै अज्ञात छ ।
बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रका समन्वय अधिकृत सुमन अधिकारीले पछिल्लो समय दैनिक बालबालिका हराएको सूचना प्राप्त हुने जानकारी दिए । ‘यो महिनामा मात्रै १७ जना बालबालिका हराएको विभिन्न माध्यमबाट हामीलाई जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यही आएर जानकारी गराउनेको संख्या पनि एक/दुई जना हुन्छन् ।’
उनले बालबालिका हराएको जानकारी आएपनि फेला परेपछि जानकारी नआउँदा फेला नपरेको संख्या धेरै देखिएको उल्लेख गरे । यस्तै खुल्ला सिमानाका कारणले पनि कतिपय बालबालिका भारतमा जाने गरेको उनले सुनाए ।

इन्दु साह/संगालोखबर 













