
विराटनगर । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको तीन रुपैयाँ बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ मूल्य तोकेको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यस क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १४४ रुपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको भाउ १६० रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १४६ रुपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६१ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै डिजेल र मट्टीतेल लिटरको १४७ रुपैयाँ पर्नेछ ।

संगालोखबर 













