इन्दु साह/संगालोखबर

विराटनगर । नेपालका विभिन्न जिल्लाबाट भारतमा बेचिएका दुई बालिकासहित १६ जनाको उद्धार गरिएको छ । विभिन्न समयमा बेचिएका बालबालिकाको केही दिनअघि ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो ।

Advertisement

तीन महिना अघि भारतको ‘आर्केस्टा’मा बेचिएकी १५ वर्षीया एक बालिकालाई सफलतापूर्वक उद्धार गरिएको छ । उद्धारपछि ती बालिकाले बारम्बार यौन शोषणको शिकार हुनुपरेको खुलासा गरेकी छन् ।

यस्तै १६ वर्षीया अर्की बालिका बेचिनबाट बचेकी छन् । उनी बेचिन लाग्दा उद्धार भएको संस्थाले जनाएको छ । उद्धार कार्यमा संलग्न ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीका अनुसार दुबै बालिकाको अवस्था बेचविखनमा परी गम्भीर थियो । उनीहरूलाई मुम्बई, नयाँ दिल्ली र विहारका विभिन्न स्थानबाट उद्धार गरिएको जोशीले जानकारी दिए ।

‘बेचिएकी एक बालिकामाथि पटक-पटक यौन शोषण गरिएको थियो’, जोशीले संगालोखबरसँग भने, ‘एउटी बालिकाको मानसिक स्वास्थ्यमा समस्या देखिएकाले उनलाई उपचार र मनोपरामर्श आवश्यक छ ।’

उनका अनुसार पछिल्लो समय मधेश प्रदेशका नाकाहरू हुँदै बालबालिका र महिलालाई भारत पुर्‍याएर यौन व्यापार, अंग बेचबिखन र अन्य अवैध काममा लगाउने क्रम बढेको छ ।

उद्धार गरिएका १६ जना मधेश प्रदेशका रहेको खुलेको छ । उनीहरूलाई बिहीबार परिवारको जिम्मा लगाइएको जोशीले जानकारी दिए । उनीहरू ७ देखि १६ वर्ष उमेर समूहका रहेका खुलेको छ ।

उनीहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटका हुन् । ‘बालबालिकालाई रोजगार र उज्यालो भविष्यको प्रलोभन देखाई सिमापारी लैजान खोजिन्छ’, जोशीले थपे, ‘तर वास्तविकता भयावह छ ।

उनीहरूलाई यौन शोषणदेखि अंग तस्करीसम्मका कार्यमा लगाइन्छ ।’ केही महिना पहिले कोशी प्रदेश लगायतका महिलाहरूलाई सोही संस्थाले भारतबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!