
विराटनगर । हाल कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबारबाट देशका धेरै ठाउँमा निरन्तर वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
गएरातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । आज राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि शनिबारबाट क्रमशः मौसममा सुधार हुनेछ । भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । यस्तै बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू-भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

संगालोखबर 













