
विराटनगर । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक ती-२० विश्वकपका लागि छनोट भएको छ । सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको हो ।
यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी-२० विश्वकपमा टिकट पक्का गरेको हो ।
आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको छ । नेपालसँगै घरेलु टोली ओमान पनि टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ ।
सुपर–६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६-६ अंक छ । नेपाल र ओमानले आजै राति प्रतिस्पर्धा गर्दैछन् ।
आज ओमानसँग खेलेपछि नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ खेल्नेछ । ओमानले भने अन्तिम खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ । अब युएई र जापानमध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ ।

संगालोखबर 













