संगालोखबर


काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले कहिल्यै भ्रष्टाचार नगरेको व्यक्तिलाई अरुको पाप थुपार्नु अन्याय भएको बताएका छन् । काँग्रेसको महासमिति सदस्य समेत रहेका नेता शर्माले दशैँको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

डा. शर्माले आफ्नो पार्टीभित्र देखिएका कमजोरीहरूलाई स्वीकार गर्दै केही इमानदार नेताहरू भ्रष्टाचार नगरेको अवस्थामा पनि दोषारोपणको सिकार भएको गुनासो गरेका छन् । उनले भनेका छन्, ‘जसले कहिल्यै भ्रष्टाचार गरेनन्, ती व्यक्तिहरूलाई अरूको पापको बोझ थोपर्नु अन्याय हो ।’

Advertisement

शुभकामना सन्देशमा उनले विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन् । डा. शर्माले विगतका केही नेताको भ्रष्टाचार, स्वार्थ र अपारदर्शिताका कारण जनतामा गहिरो निराशा फैलिएको स्वीकार गरेका छन् ।

‘हामी यो यथार्थलाई लुकाउने प्रयास गर्दैनौँ । बरु आत्मसमीक्षाको साहसका साथ सम्पूर्ण नेपाली जनसमुदाय सामु विनम्रतापूर्वक क्षमा याचना गर्दछौँ’, उनले भनेका छन्, ‘किनभने क्षमा माग्नु कमजोरी होइन । यो सत्य प्रतिको निष्ठा र आत्मालोचनाको इमानदार प्रमाण हो ।’

उनले राजनीतिक क्षेत्रलाई आरोप र बदनामीको थलो मात्र नबनाई, सेवा, त्याग र आदर्शको माध्यम बनाउनु पर्नेमा जोड दिएका छन् । पार्टीका इमानदार नेताहरूको आत्मसम्मान रक्षा काँग्रेसको दायित्व भएको उनले उल्लेख गरेका छन् ।

‘लोकतन्त्रमाथि खेलवाड गर्ने छुट कसैलाई पनि छैन । न्यायमा आधारित समाज, समान अवसरमा टेकेर अघि बढ्ने शासन व्यवस्था र समृद्ध नेपाल निर्माण हाम्रो ऐतिहासिक जिम्मेवारी हो’, शुभकामना सन्देशमा भनिएको छ ।

डा. शर्माले आगामी दिनमा पार्टीको पुनर्जीवनका लागि आत्मालोचना र आत्मसुधारलाई राजनीतिक यात्राको अनिवार्य आधार बनाइने बताए । दशैँको शुभकामना जारी गर्दै डा. शर्माले साझा प्रयासमार्फत देशको पुनर्निर्माण र समृद्धिको मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!