
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा भएको घटनामा आफ्नो हात नभएको बताएका छन् । शनिवार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि ओलीले माग गरेका छन् । आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्न आयोग बनाउन भनेको उनले स्मरण गरे । वर्तमान सरकारले छानबिन समिति बनाएकाले त्यसले सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘कसरी त्यस्तो घटना भयो ? त्यसको लागि छानबिन गर्न आयोग बनेको छ, घटनाको निष्पक्ष छानबिन होला, त्यसमा म विश्वस्त छु’, उनले भने ।
२३ गते सुरक्षाको बारेमा आफूले बालुवाटारबाट पटक-पटक जानकारी लिएको बताउँदै उनले गोली हान्ने कुनै आदेश नदिएको दावी गरे । ‘बालुवाटारमा सोधेर बसिरहेको थिए, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोल कसरी चल्यो ? गोली चलाउने तहमा कसरी पुग्यो ? भनेर मैले सोधिरहेको छु, पछि मैले सुने १४ जनाको निधन भइसक्यो, कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ कसरी मरे युवाहरू कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा, अनि सुरक्षा फोर्सले त घुँडा मुनि हान्ने चलन हुन्छ घुँडा मुनि हानेको हुन्छ, कसरी टाउका टाउकामा गोली लाग्यो ? म सोध्दै छु-यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुखित छु, यो कसरी भयो ?’, उनले भने ।
भदौ २३ गते क्षति भएपछि थप क्षति नहोस् भनी आफूले भदौ २४ गते बिहान साँढे ११ बजे नै राजीनामा दिएको उनले बताए । आफूले राजीनामा दिएपछि देश जलाइएको उनले सुनाए । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि राजीनामा दिएँ’, उनले भने ।

संगालोखबर 













