
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । महासमिति सदस्य समेत रहेका नेता शर्माले सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै राजनीतिक दल र नेताहरूले आफ्ना कमीकमजोरी सुधार गर्नुपर्ने उल्लेख गरेका हुन् ।
उनले समयमै राजनीतिक दल तथा नेताहरूले आफ्ना गल्ती र राजनीतिक अपराधको आत्मसमीक्षा नगरे पुनः अर्को ठूलो जनविद्रोह हुने धारणा राखेका छन् ।
‘समयमै राजनैतिक दल तथा नेताहरूले सुझबुझसहित आफूले गरेका गल्ती र कैयौं राजनैतिक अपराधिकरणको आत्मसमीक्षा गरी सच्याउन आवश्यक छ’, उनले भनेका छन्, ‘नसच्याउने हो भने, सच्याउन तयार नहुने हो भने र जेनजी आन्दोलनको उपलब्धीलाई शून्य बनाउन षड्यन्त्रको तानाबुना बनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ ।’
शर्माले जेनजी आन्दोलन केवल युवाको आन्दोलन नभई आम जनताको आन्दोलन भएको बुझ्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, महाधिवेशनको अनिवार्यता, न्यायालयमा कुनै पनि राजनीतिक नियुक्ति नहोस् भन्ने माग अघि सारेका छन् ।
उनले यसको लागि लोकसेवा आयोग सरहको स्वायत्त निकाय गठन गर्नुपर्ने, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा जस्ता आधारभूत आवश्यकतालाई संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । जनताका आधारभुत आवश्यकतालाई सम्बोधन गर्ने काम संविधानबाट नभएको खण्डमा १०/१५ वर्षपछि यो भन्दा ठूलो आन्दोलन हुने निश्चित देखिएको उनको भनाइ छ ।
‘यस पटक नेताहरू कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजीखोजी मारिने छन्’, उनले भनेका छन्, ‘आफ्नै घरमा पनि मानिसहरू सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा बढी मानिसहरूले ज्यान गुमाउने परिस्थिति आउन सक्छ ।’

संगालोखबर 













