
धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघालेले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।
महानगरले २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँडबाट ३४ करोड, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड र सामाजिक विकासमा ४ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै वन, वातावरण, ऊर्जा र विपद् व्यवस्थापनमा २ करोड ७४ लाख, आर्थिक विकासमा १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनमा ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख बजेट छुट्याइएको छ ।
धरानका २० वटै वडाका लागि छुट्टै २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर कार्यपालिकातर्फ निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदान ६० करोड ५६ लाख, समपूरक बजेट १ करोड ८२ लाख र विशेष अनुदान ५ करोड ४३ लाख विनियोजन गरिएको छ ।

संगालोखबर 













