संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक ढिक्का हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएको उल्लेख गरे । उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।

कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारणमा लागिपरेको उनले चर्चा गरे । मुख्यमन्त्री कार्कीले सामाजिक-आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताए ।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उनको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!