
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गएराती जेनजीहरुले नै प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीले युवाहरूसँग समन्वय नगरी आफूखुसी मन्त्रीहरू नियुक्त गरेको भन्दै जेनजी समूहको अगुवाई गर्दै आएका सुदन गुरुङसहितको समूहले नारावाजी गरेको हो ।
सो क्रममा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिको परिवारका सदस्यहरू पनि सहभागि थिए । उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ सहितका नारा लगाउदै प्रदर्शन गरेका छन् । सो क्रममा जेनजी समूहको अगुवा सुदन गुरुङले प्रधानमन्त्रीलाई जुन ठाउँबाट ल्याएको त्यही ठाउँमा पुर्याइदिने चेतावनी पनि दिएका छन् ।
‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन,’ उनले भने, ‘जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’ सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा कार्की गत शुक्रबार प्रधानमन्त्री बनेकी हुन् ।
अहिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्री बनाइएको चर्चा छ ।
युवाहरूले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश व्यक्त गरेका छन् । ‘यो ओमप्रकाश लयर आफैँले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ नाराबाजीका क्रममा गुरुङले आक्रोशित हुँदै भनेका छन् ।

संगालोखबर 













