
विराटनगर । संघीय सांसद डा. सुनिल शर्माले संवैधानिक बाटोबाट अहिलेको विषम परिस्थितिको समाधान खोज्न तथा राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद शर्माले यस्तो आह्वान गरेका हुन् ।
उनले अहिलेको विषम परिस्थितिमा सबै राजनैतिक पार्टीहरूले आफ्नो स्वार्थ निहित छलकपट र दाउपेच नगरी आम जनताको पक्षमा देशलाई भ्रष्टाचार रहित, विकासोन्मुख र समृद्धिको बाटोमा लैजान नयाँ ढंगले इमान्दारिताका साथ अगाडि आउन अपिल गरेका छन् ।
उनले अहिलेको अवस्थामा राजनीतिक पार्टीहरूलाई संलग्न नगराई उनीहरूको सहमति र प्रतिबद्धता नलिइ गरिएका निर्णयहरूले थप विकराल अवस्था आउन सक्ने बताएका छन् । यस्तै राजनीतिक पार्टीहरूले पनि आफु इमान्दार र पारदर्शी नभए भविष्यमा अझ विकराल परिस्थिति सिर्जना हुनसक्ने उल्लेख गरेका छन् ।
सांसद शर्माले जेनजी, नागरिक समाज, स्वतन्त्र समाजसेवी विज्ञ, प्राज्ञ, कानुन तथा संविधानविद, सबै पार्टीहरू र आम जनतालाई गम्भीर हुन पनि आग्रह गरेका छन् ।
वर्तमान राजनीतिक संकट समाधान गर्न जेनजी युवाहरूको मागअनुसार संविधान शंसोधन लगायत बिषयहरूमा वार्ता गर्नुपर्ने र तयसमा राजनीतिक दलहरूलाई पनि समावेश गर्दै वर्तमान सांसदहरूको सर्वसम्मतिबाट संविधान शंसोधन गर्न सुझाव दिएका छन् ।
जेनजी युवाहरूको वार्ता अनुसार नेपालका आम जनताले स्वीकार गर्ने स्वच्छ छवीको व्यक्तिको अगुवाइमा अन्तरिम सरकार गठन गर्ने, ६ महिना देखि १ बर्षभित्र आम निर्वाचन गराउने र सोको मिति तय गर्नेगरी कदम चाल्नुपर्ने शर्माले बताएका छन् ।
यस्तै आम निर्वाचनसँगै संवैधानिक राजतन्त्र तथा धर्मको विषयमा पनि जनमत संग्रह गर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्ने, एक व्यक्ति बढीमा दुई पटक भन्दाबढी देशको राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने तथा प्रदेश सभा खारेज गर्ने गरी कदम चालिनुपर्ने उल्लेख गरेका छन् ।




संगालोखबर 













