संगालोखबर


विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

Advertisement

यसअघि सोमबार सुनसरीको गढी गाउँपालिका-६ बस्ने ४८ वर्षीय रामदेव उराव र मंगलबार बिहान धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । कारागार प्रशासनका अनुसार उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा थिए ।

शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उरावलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उरावको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका अर्का कैदी राईलाई वान्ता हुने, शरीर नचल्ने समस्या आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको पनि उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको थियो ।

‘कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता समस्या देखिएपछि घोपाबाट विशेषज्ञसहितको टोली बोलाएर परीक्षण गरिएको छ’, कारागारका निमित्त जेलर राम निरौलाले संगालोखबरसँग भने, ‘भाइरल ज्वरो होकी भन्ने छ । रिपोर्ट आएपछि कारण थाहा हुन्छ ।’

उनका अनुसार १३ जना कैदीबन्दीको घोपामा उपचार भइरहेको छ । विशेषज्ञ टोलीले अहिले डराइहाल्नुपर्ने अवस्था नरहेको बताएको उल्लेख गर्दै उनले सतर्कता अपनाइएको बताए ।  अज्ञात रोग फैलिएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कारागारको दुबै ब्लकमा गरी एक हजार सात सय ९४ जना कैदीबन्दी रहेका निमित्त जेलर निरौलाले बताए । उनका अनुसार कारागार एक हजार ६ सय क्षमताको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!