
विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।
‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेन्ज फन्डमार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
यसबाहेक इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ ।
कोशी प्रदेश सरकारका अनुसार उदय परियोजनामार्फत प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य राखिएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।
यो परियोजनालाई १४ वटै जिल्लामा पुर्याउने प्रदेश सरकारको लक्ष्य राखेको छ । पहाडी क्षेत्रको बसाइँसराइलाई मध्यनजर गरेर त्यहाँ रहेका साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ ।
परियोजना अन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अर्ब रुपैयाँ लगानी परिचालन हुनेछ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुने जनाइएको छ ।
परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताए । उनले पहिलो चरणमा परियोजना चार वर्षसम्मको हुने जानकारी दिए ।
उदय परियोजनाका टिम लिडर अरुण राणाले परियोजनालाई सफल रूपमा अगाडि बढाउने गरी तयारी गरिएको बताउँदै परियोजनालाई व्यापक रूपमा नयाँ उद्यम गर्न चाहने र उद्यम गरिरहेकाहरू बीचमा पुर्याउने योजना रहेको बताए ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजानको लागि सहयोग पुग्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीको पहलकदमीमा भएको एउटा महत्त्वाकाङ्क्षी र महत्वपूर्ण परियोजना भएको उनको भनाइ छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले परियोजना सञ्चालन भएसँगै प्रदेशमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्नेछ ।
।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमुनाका रूपमा सफल बनाएर देशव्यापी उदाहरण दिने प्रतिबद्धता व्यक्त गरे । यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा सावित हुने मुख्यमन्त्री कार्कीको विश्वास छ ।

संगालोखबर 













