
काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै भोलिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरिएको हो ।
भोलि बिहान ११ वजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नयाँ बानेश्वरचोकसम्म र्याली निकाली पुनः माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
६ गते बिहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने, काठमाडौं उपत्यकामा २७ किलोमिटर चक्रपथवरिपरि स्कुल बसहरूमा कालो झण्डा र ब्यानर लगाएर र्याली गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।
दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद् घेराउ र धर्ना गर्ने र भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
यस्ता छन् माग
१) ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।
२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५) छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटिइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

संगालोखबर 













