
भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या वर्षेनी घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् ।
उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ र आर्थिक वर्ष २०७८/०७९ मा चार सय चार उद्योग दर्ता भएका थिए ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा दुई सय ६४, आर्थिक वर्ष २०८०/०८१ मा एक सय ३३ र आर्थिक वर्ष २०८१/०८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् ।
कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ । गत आर्थिक वर्षमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी एक सय १२ वटा खारेजी भएका छन् ।
भोजपुरमा उद्योगतर्फ तीन हजार ६ सय ६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७ सय ४६ उद्योग तथा फर्म दर्ता रहेका कार्यालयले जनाएको छ । जसमध्ये करिब ५० प्रतिशत निष्क्रिय छन् ।

संगालोखबर 













