
विराटनगर । कोशी प्रदेश सरकारले आधिकारिक पत्राचार, कागजात र सरकारी सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर नेपाल’ लेखिँदै आएको थियो । निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले यसलाई अनिवार्य रूपमा लागू गरिने बताए ।
मन्त्रिपरिषद्ले प्रदेश सरकारी सेवामा कार्यरत अस्थायी दरबन्दीमा रहेका कर्मचारीहरूको दरबन्दी स्वीकृति दिने निर्णय पनि गरेको छ । यो निर्णयले लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूको अवस्था प्रष्ट पार्ने विश्वास गरिएको छ ।
सरकारले प्रदेशको सरकारी कामकाजमा प्रयोग हुने भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गर्ने निर्णयसमेत गरेको छ । मन्त्री भण्डारीका अनुसार विधेयक पारित भएपछि लिम्बु भाषा र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने बाटो खुल्नेछ ।
यस्तै कोशी प्रदेशको तथ्यांक व्यवस्थापनसम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको छ । साथै प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिइएको छ ।
शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालनसम्बन्धी अर्को विधेयक पनि प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

संगालोखबर 













