संगालोखबर


विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले सुरु गरेको श्रमदान अभियानले तीव्रता पाएको छ । साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियानले कोशी प्रदेशमा पनि तिव्रता पाएको हो ।

‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत र बाँध निर्माण गरिरहेको छ ।

Advertisement

अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ । अभियान अन्तरगत ताप्लेजुङको श्रीजङ्घामा पर्ने मामाङ्खे र पेदाङमा एक हजार बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ गरिएको छ । यस्तै दुई सय ५० बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

खोटाङमा हलेसीको होलेसुङ-जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम भएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, नीलकाँडा लगायतका पाँच सय बढी बिरुवा रोपिएको छ ।

उदयपुरमा हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सकिएका छन् । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । यस्तै त्रियुगा-१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ ।

पाँचथरमा वाईसीएलले अभियानको औपचारिक उद्‌घाटन अघिदेखि नै श्रम सम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!