काठमाडौं,२३ असोज । सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलोे सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ ।

सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किंदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।

यो व्यवस्था हटाएका कारण बैंकमार्फत सुन आयात बढेको व्यवसायी र सरकारी अधिकारी बताउँछन् । यो व्यवस्था कायम रहेसम्म बैंकहरुले ल्याएको सुन समेत बिक्री नहुने समस्या थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले झिटीगुन्टा अन्तर्गत ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात बढेको  बताए । ‘झिटीगुन्ट र तस्करीमा कमी आएका कारण बैंकको सुन आयात बढेको हो,’ उनले भने ।

अर्कोतिर सरकारले बैंकहरुलाई गत फागुनदेखि प्रतिदिन २० किलो र चाडपर्वमा थप दैनिक पाँच किलो सुन आयात गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि बैंकले दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउँथे । सरकारले आयात परिमाण बढाएपछि पनि सुन आयात बढेको हो ।

बजारमा आइतबार प्रतितोला सुनको मूल्य करिब ५६ हजार रुपैयाँ तोकिएको छ । यो हिसाबले एक किलो सुनलाई अहिले ४८ लाख रुपैयाँ पर्छ ।

चालु आवमा बैंकबाट दैनिक करिब १० करोड  रुपैयाँको सुन बिक्री भइरहेको छ । ७७ दिनमा सात अर्ब ४४ करोड रुपैयाँ जतिको सुन मुलुकमा भित्रिएको छ ।

मुलुकमा बैंकमार्फत् यति धेरै मात्रामा सुन भित्रिएको यो पहिलोपटक हो । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको असोज १७ सम्म एक हजार पाँच सय ५० किलो सुन बैकिङ प्रणालीबाट आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक हजार किलो मात्र सुन आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष ०७१÷७२ मा दैनिक करिब साढे चार किलो सुन बैकिङ प्रणालीबाट आयात हुने गरेको थियो । गत आर्थिक वर्ष भने त्यसको चार गुणाभन्दा माथि (दैनिक करिब १८ किलो) सुन आयात हुने गरेको संघको तथ्यांकले देखाउँछ । चालु आवले भने गत वर्षलाई पनि जितेको हो ।

अर्कोतिर सरकारले बैंकहरुलाई टुक्रे सुन आयात गर्न दिएको र बैंकहरुले पनि टुक्रा सुन बेच्न थालेकाले आयात बढेको हो । यो व्यवस्था पछि बैंकहरुले सय ग्राम, पाँच सय ग्रामका टुक्रा पनि ल्याउन थालेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई गत पुसको तेस्रो सातादेखि सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको थियो ।

यसअघि किलोभन्दा माथिको सुनमात्र आयात गर्न पाउँथे र बिक्री पनि यस्तै हिसाबले मात्र हुन्थ्यो ।सुनचाँदी व्यवसायीले एक किलोभन्दा कम परिमाणको सुन पनि किन्न पाउनुपर्ने माग राख्दै आएका थिए । उनीहरुको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

बैंकहरुले किलोभन्दा माथिका सुनमात्र ल्याउन पाउने व्यवस्थाले व्यवसायीले सानो परिमाणमा सुन पाउन सकेका थिएनन् ।
व्यवसायीले बैंकबाटै सुनचाँदी किन्नुपर्छ ।

नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन् । केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।

‘माग बढ्न थालेपछि बैंकहरुले सुन धेरै ल्याउन थालेका छन्,’ नेपाल बैंकर्स संघका एक अधिकारीले भने, ‘अहिले व्यापारीलाई दिने सुनको अभाव छैन ।’ बैंकमा रहेको सुन चाँडै नै खपत हुन थालेपछि यसको आयात परिमाण पनि बढेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले प्रस्ट पारेको छ ।

स्टक सुन बिक्री भएपछि बैंकले सुन आयात गर्न थालेका छन् । यसअघि सुन बिक्री नभएको भन्दै आयात रोकेका थिए । पछिल्लो समय अनौपचारिक बाटोबाट सुन भित्रने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकको सुन बिक्री बढेको छ,’ उनले भने ।

बैंकबाट सुन किन्दा भरपर्दो हुने भएकाले बैंकबाटै किन्न थालेको एक व्यापारीले बताए । उनले भने, ‘बैंकबाट किन्दा झन्झट बेहोर्नु नपर्ने भएकाले पनि व्यापारी त्यतातिर लागेका हुन् ।’

नेपालमा सुन आयात गर्ने अनुमति बैंकलाई मात्र छ । राष्ट्र बैंकले २० वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ ।
अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारको राजस्व गुम्छ । अवैधानिक सरहकै मूल्यमा बैंकबाट सुन पाउने भएपछि व्यवसायी पनि त्यतैतिर लागेका छन् ।

अघिल्लो आर्थिक वर्षमा भूकम्पको असरले पनि सुन बिक्रीमा कमी आएको थियो । झिटीगुन्टाको व्यवस्थाले पनि बैंकको सुन बिक्री घटेको थियो । सरकारले उक्त व्यवस्था खारेज गरी व्यक्तिले काँचो सुन ल्याउन नपाउने प्रावधान लागू गरेपछि बैंकबाट सुन किन्ने बढेका छन् ।-नागरीक न्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!