
विराटनगर । कोशी प्रदेशमा हालसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ६१.६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
यस वर्ष समयमा नै पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा कम रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा ३९.७१ प्रतिशत, मध्य पहाडमा ५१.२७ र तराइमा ३७.९७ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशभरि कुल दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म एक लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
कुल धान खेती हुने क्षेत्रफलमध्ये ताप्लेजुङमा हालसम्म ३९.६३, संखुवासभामा ३६ र सोलुखुम्बुमा ६५.७४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
यस्तै पाँचथरमा ६९, इलाममा ५८, भोजपुरमा ६५, तेह्रथुममा ४०, धनकुटामा २६, उदयपुरमा २६, ओखलढुङ्गामा ४८.२५ र खोटाङमा ७१.८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी झापामा ४१.६७, मोरङमा ३६ र सुनसरीमा ३५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

संगालोखबर 













