
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने १०१ जनालाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी तथा खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको हो ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार नगदसहित सम्मानपत्र र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ६ हजार र काश्य पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ५ हजार सहित सम्मान गरेको बताए ।
यस्तै अन्तरप्रदेश भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही १२ हजार, रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
अन्तरप्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिताको काश्य पदक विजेता खेलाडीलाई जनही ५ हजार, मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा रजत पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ६ हजार र प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा काश्य पदक प्राप्त टोलीका सदस्यलाई जनही ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै पदक प्राप्त गर्ने सबै खेलका प्रशिक्षक र व्यवस्थापकलाई जनही ५ हजार सहित सम्मान गरिएको थियो । कोशी प्रदेशमा स्थायी बसोबास गरी खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका १० जनालाई सम्मान गरिएको थियो । उनीहरूलाई जनही १० हजारसहित सम्मान गरिएको थियो ।
यस्तै खेलकुद पत्रकारिता सम्मानबाट मोरङका अभय राई, अनिल श्रेष्ठ, झापाका रमेश समदर्शी र रमा दाहाल, सुनसरीका घनेन्द्र पौडेल(विकल) र गुरु ढकाल सम्मानित भए । उनीहरूलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
यसैगरी बोर्डले विराटनगरका उद्योगपतिद्वय महेश जाजु र प्रकाश मुन्दडालाई नगद ११ हजारसहित सम्मान गरेको थियो । सामाजिक विकास मन्त्रालयका अधिकृत कोमल बहादुर खड्का, जिल्ला खेलकुद विकास समिति धनकुटा कार्यालयका प्रमुख नवीन प्रधान, बोर्डका सहायक कम्प्युटर अपरेटर त्रिविजीत कार्की, जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय सहयोगी सुनिलकुमार चौधरीलाई नगद १० हजारसहित सम्मान गरिएको छ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की, सदस्य सचिव बस्नेतलगायतले सम्मान गरेका थिए ।

संगालोखबर 













