संगालोखबर


विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले उत्पादन र परिणाममुखी बजेट आउने गरी नीति बनाउन प्रदेश सरकारलाई सुझाव दिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर माओवादीले उद्यमशीलताको विकास, स्टार्टअप र आईटी क्षेत्रलाई विशेष प्राथमिकता दिन सुझाव दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार भेटमा मुख्यमन्त्री कार्कीले सबैको अपनत्व हुनेगरि अगाडि बढ्ने बताएका छन् ।

Advertisement

माओवादी दलको तर्फबाट पूर्वमन्त्रीसमेत रहेका सांसद गणेश उप्रेती ‘सुशील’ र जीवन आचार्य तथा दलकी प्रमुख सचेतक गीता तिम्सिना र सचेतक सपना परियारसहित पुगेका  आङ्बोले पार्टीको तर्फबाट १२ वटा सुझाव दिएको बताए ।

उनका अनुसार माओवादीले मुख्यमन्त्रीलाई उत्पादन र परिणाममुखी बजेट आउने गरी नीति बनाउन, उद्यमशीलताको विकास, स्टार्टअप, आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिन सुझाव दिइएको छ ।

यस्तै कृषि क्षेत्रमा ब्याज अनुदान दिने कार्यक्रममा सरकार असफल भएको भन्दै त्यसलाई परिवर्तन गरी कृषि केन्द्रीत स्टार्टअपलाई सिधै ऋण दिने व्यवस्था गर्न सुझाव दिएको छ ।

स्वास्थ्यमा रकम बाँड्ने भन्दा प्रदेशमा भएका करिब ३० वटा बढी अस्पतालको सेवा र पूर्वाधारमा लगानी बढाएर सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने, शिक्षा क्षेत्रमा १४ वटा जिल्लामा १-१ वटा आवासीय नमूना विद्यालयहरू बनाउने नीति लिनुपर्ने, व्यवसायिक शिक्षा र आईटीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको आङ्बोको भनाइ छ ।

पूर्वाधारतर्फ सञ्चालित बहुवर्षे र चालू योजनाहरूलाई सम्पन्न गर्ने नीति लिने र नयाँ आयोजना छनौट गर्दा परिणाममुखी आयोजनाहरू मात्रै छनौट गर्ने, सामान्य योजना नराख्ने, ५६ वटा निर्वाचन क्षेत्रलाई सन्तुलित हुने ढङ्गले बजेट विनियोजन गर्ने नीति लिन माओवादीको सुझाव छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!