
विराटनगर । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन पुरै कार्यकाल चल्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले एमाले र काँग्रेसबीचको सहमतिको आधारमा गठबन्धन पूर्ण कार्यकाल चल्ने दाबी गरे । यस्तै उनले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने उल्लेख गरे ।
गृहमन्त्री लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको उल्लेख गर्दै जनतालाई आशा दिइरहेको बताए । उनले संविधान र वर्तमान व्यवस्थाविरुद्ध कुनै पनि गतिविधि सह्य नहुने चेतावनी समेत दिए ।
नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न त्याग र बलिदान गरेकाको बताउँदै गृहमन्त्री लेखकले यो व्यवस्था परिवर्तन नहुने उल्लेख गरे ।

संगालोखबर 













