
विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बताएका छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका छन् ।
नेपाली काँग्रेसका युवा नेता तथा सांसद शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले शिक्षकहरूलाई सडकमा नभएर तत्काल सम्मानका साथ विद्यालय फर्काउने वातावरण बनाउन आग्रह गरेका छन् ।
‘शिक्षाको ज्योति फैलाउने गुरुहरूको अपमान भइरहेको छ भने अर्को तिर लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली समाजको रूपान्तरणमा सबैभन्दा बलियो र प्रभावकारी भूमिका खेल्नु भएका शिक्षकका मागहरूका विषयमा सरकारले गम्भीरता पूर्वक छलफल गर्न ढिलो गर्न हुँदैन ।’
उनले शिक्षकहरूका माग सम्बोधनमा संसद्ले के काम गर्न पर्छ त्यसमा आफूहरू तयार रहेको उल्लेख गरेका छन् । ‘गुरुहरूलाई सडकमा होइन् उच्च मनोबल र सम्मानका साथ विद्यालयमा छिटो पठाउने वातावरण बनाउन सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्छ’, उनले भनेका छन् ।
डा. शर्माले शिक्षकमाथि भएको अपमान नेपाली समाजकै रूपान्तरणको बाधक बन्ने चेतावनी दिँदै सरकारलाई अविलम्ब आवश्यक कदम चाल्न सुझाव दिएका छन् ।

संगालोखबर 













