संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले ‘सार्वजनिक महत्वको प्रस्ताव’  प्रतिनिधिसभामा दर्ता गराएका छन् । सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधीउपचारसम्बन्धी उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने मागसहित सांसद शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु यो प्रस्तावको उद्देश्य रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आम्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलियत प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमाबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

तत्काल स्वास्थ्य बीमा थैलीलाई दुई लाख गरिनुपर्ने तथा क्रमशः एक वर्षभित्रमा पाँच लाख र तीन वर्षभित्रमा १० लाख पुर्‍याउनुपर्ने प्रस्ताव डा. शर्माले दर्ता गराएका छन् ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढङ्गले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसङ्ख्या निर्माण हुने, सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुत गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढावा दिई गुणस्तरीय र चुस्त सेवाको नमुना विकास हुने सांसद शर्माको अपेक्षा छ ।

यो प्रस्तावलाई संसद्को आगामी सत्रमा छलफल चलाउन आग्रह गर्दै सांसद शर्माले यसले सबै नागरिकको स्वास्थ्यको भलाइ र भविष्यलाई सुनिश्चित गर्न सकिने विश्वास गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!