विराटनगर । देशभर आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय मातहत ६४ वटा आङ्गिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमध्ये दुई वटा आङ्गिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन भइसकेको छ । विवादका कारण कतिपय क्याम्पसमा तालाबन्दी पनि भएको छ ।
विद्यार्थीहरूको हकहित तथा शिक्षक कर्मचारी र विद्यार्थीबीच समन्वय गरी पठनपाठनका लागि उपयुक्त वातावरण निर्माण गर्न स्ववियुको महत्वपूर्ण भूमिका हुन्छ । वि.सं. २०१८ सालदेखि प्रत्यक्ष मतदान प्रणालीका आधारमा स्ववियु निर्वाचन हुन थालेको इतिहास छ ।
२०० जनासम्म विद्यार्थी संख्या भएका क्याम्पसमा ११ सदस्यीय स्ववियु गठन हुन्छ । २०१ देखि १००० जनासम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएका क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति निर्माण हुने व्यवस्था छ ।
२१ सदस्यीय स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ८ जना सदस्य गरी ११ जना निर्वाचित हुनेछन् । बाँकी समानुपातिकबाट निर्वाचित हुनेछन् । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।