विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आजबाट सेमिफाइनल भिडन्त सुरु हुनेछ । आजको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले प्रतिष्पर्धा गर्नेछन् ।
घरेलु टोली मोरङलाई १-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलमा विजयी हुने टोली फाइनलमा पुग्ने छ ।
सोमबारको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । सशस्त्र प्रहरी बल एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो भने एनआरटी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पाउनेछन् । आजको खेल साँझ ६ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।