संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम्दानीको श्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने तयारी थालिएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘सोह्रौँ योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदान लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले कोशी सरकारले प्रदेश योजना बैङ्कको अवधारणा लागू गरेको उल्लेख गरे । उनले प्रदेश सरकारको आफ्नै आम्दानीको स्रोत नभएको र स्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिएको बताए ।

उनले योजना छनौट गर्ने, योजनालाई बैङ्कमा समावेश गर्ने, गाउँ गाउँमा गएर छलफल गर्ने, प्रदेश भित्रका आयोजनाहरूलाई समावेश गर्ने लगायतका कामलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।

‘हामी आफू बाँधिएनौ भने हाम्रा सीमित साधन स्रोतले सबै आवश्यकता पुरा हुन सक्दैनन्’, मुख्यमन्त्री कार्कीले भने, ‘हामीसँग पैसा धेरै भयो भने वा साधन स्रोत धेरै भयो भने बैङ्कका योजनाहरू कार्यान्वयनमा गएर घट्दै जान्छन् । पैसा कम भयो भने योजना थुप्रिन्छ । यो त हाम्रो स्रोत र जनशक्ति अनुसार हुन्छ । योजना बैङ्कमा आउने कुराले केही पनि बिग्रिदैन ।’

सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाए पनि प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने मुख्यमन्त्री कार्कीको भनाइ थियो । उनले सङ्घीय सरकारले धेरै बजेट कटौती नगरेको अवस्थाबाहेक प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने स्पष्ट पारे ।

मुख्यमन्त्री कार्कीले पहाडबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने प्रवृत्ति रोक्न आवश्यक रहेको धारणा राखे । उनले विकासका पूर्वाधारलाई मात्र प्राथमिकतामा राख्दा पूर्वाधार बनेपछि त्यहाँका मानिस बसाइँ सर्ने प्रवृत्ति देखिएको बताए ।

उनले बसाइसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । कार्कीले प्रदेश, सङ्घ र स्थानीय तह मिलेर गाउँमै रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे ।

‘बसाइँसराइ रोक्न तीनै तहका सरकारबीच साझा प्रयास आवश्यक छ,’ उनले भने, ‘गाउँमै राम्रो आम्दानी गर्ने अवसर सिर्जना गर्न तीनै तहका सरकारले संयुक्त प्रयास थालौँ ।’

मुख्यमन्त्री कार्कीले २० हजारलाई रोजगारी दिने लक्ष्यसहित प्रदेश सरकारले कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा चार सय किलोमिटर लामा चार वटा पदमार्ग निर्माण सुरु गरेको उल्लेख गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सरकारले बनाएका योजनाले जनताको आर्थिक अवस्था सुधार हुन्छ की हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । जनताको आयस्तर वृद्धिमा सघाउ पुगेन भने सरकारले निर्माण गरेका योजनाले सार्थकता नपाउने उनको भनाइ थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!