विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ दर्बेसाका शङ्कर ऋषिदेवले ७० वर्षीया आमालाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार राति उपचारका लागि विराटनगर ल्याए । विराट टिचिङ अस्पतालमा भर्ना गरेर आमाको उपचार सुरु भयो । भोलिपल्ट अर्थात बुधबार अस्पतालले रगत जोहो गर्न भन्यो ।
केही समय चिनेजानेका मान्छेलाई सम्पर्क गरे । अन्य माध्यमबाट पनि रगतको खोजी गरे । कतै रगत समुह मिल्दैन त कसैले के भन्छ । भौतारिरहेका उनलाई कोही मार्फत एउटा नम्बर उपलब्ध हुन्छ । उनले तुरुन्तै सम्पर्क गर्छन र आमाको लागि रगत चाहिएको बताउँछन् ।
उताबाट हुन्छ भन्ने जवाफ आयो । उनी हस्पिटलबाट देवकोटा चोकस्थित रक्त सञ्चार केन्द्रमा पुगे । त्यहाँ थिए, विराटनगरका हरिमोहन श्रेष्ठ । श्रेष्ठ औषधी व्यवसायी पनि हुन् । उनको रगत समुह ‘ए’ पोजेटिभ हो । बुधबारको रक्तदानसँगै श्रेष्ठले १०३ पटक रक्तदान गरिसके ।
५६ वर्षीय श्रेष्ठले १८ वर्षको उमेरदेखि रक्तदान गर्न थालेका हुन् । विभिन्न संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा पुगेर रक्तदान गर्ने श्रेष्ठले पछिल्लो समय नियमित अर्थात एक पटक रगत दिइसकेपछि कुर्नुपर्ने समयपश्चात् पुनः रक्तदान गर्दै आएका छन् ।
‘त्यो समयमा नियमित रक्तदान हुँदैन थियो’, उनी सम्झन्छन्, ‘बीचमा केही समय छुट्यो पनि । अहिले नियमित रक्तदान गर्न थालेको १२ वर्षजति भयो । जसलाई ताजा रगत आवश्यक परेको हुन्छ, उसलाई रगत उपलब्ध गराइरहेको छु ।’
नियमित रक्तदान गरिरहेका श्रेष्ठसँग कतिपय अविस्मरणीय घटनाहरू पनि छन् । कोरोना कालमा बच्चा बिरामी भएर एक जना महिला विराटनगर आएकी थिइन् । बच्चालाई रगत चाहिने भएपछि उनले खोजी गरिन् । एक जना रिक्सावालाले उनलाई श्रेष्ठको नम्बर दिएछन् । श्रेष्ठले फोन आउनासाथ गएर रगत दिए । उनी त्यो घटना आफूलाई सँधै स्मरण भइरहने बताउँछन् ।
‘रगत नपाएर भौतारिरहेको अवस्थामा रिक्सावालाले मेरो नम्बर दिएछन्’, उनले भने, ‘मैले जब रगत दिएर निक्लिन लागेको थिए । उहाँ रुनुभयो, मेरा आँखाबाट पनि आँशु बगे ।’
श्रेष्ठलाई रक्त सञ्चार केन्द्रदेखि रगत आवश्यक परेका ब्यक्तिको फोन आइरहन्छ । उनी तुरुन्तै गइहाल्छन् । रक्तदान गर्दा शरीर नै फुर्तिलो र जाँगरिलो हुने उनको अनुभव छ । ‘स्वास्थ्यले साथ दिएसम्म रक्तदान गर्ने सोचमा छु’, उनले थपे, ‘सेवा कार्य नै सबै भन्दा ठूलो धर्म हो ।’