विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज चर्च ब्वाइज युनाइटेड र एनआरटीबीच प्रतिष्पर्धा हुने छ ।
विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेपछि चर्च ब्वाइज र एनआरटीबीच अन्तिम क्वाटरफाइनल खेल हुने भएको हो ।
चर्च ब्वाइज र एनआरटीबीचको खेल सकिएपछि विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुने छ । आइतबारदेखि सेमिफाइनल खेल सुरु हुनेछ ।
शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ ।
यसअघि नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आज विजेता हुने टोलीसँग पुलिसले सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
आज ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजकले महिलाहरूका लागि निःशुल्क विराट गोल्डकप हेर्ने व्यवस्था मिलाएको छ ।