
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार विराटनगर स्थित सहिद रङ्गशालामा सम्पन्न प्रतियोगितामा पाँचथरलाई ३-० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।
खेलको सुरुवात देखिनै पाँचथर माथि हाबी भएको झापाले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक-एक गोल थप्दै झापाको जित सुनिश्चित गरेका थिए ।
खेलको ‘वुमन अफ द म्याच’ झापाकी मनिता तुम्रुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर घोषित भइन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी, उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी घोषित भए ।
उपाधि सहित झापाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद एक लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ५० हजार पाएको छ ।

संगालोखबर 













