काठमाडौं, २ असोज । पछिल्लो समय इन्टरनेटले मानिसको जीवनलाई सहज बनाइदिएको छ । खबर पठाउन परेवाको भर पर्ने दिन गएका छन् अब । चिठीपत्रको जमाना पनि छैन । सूचना प्रविधिमा भएको विकासले गर्दा विश्वलाई साँघुरो बनाइदिएको छ ।
हामी जहाँसुकै भए पनि विश्वका जुनसुकै कुनाका खबर क्षणभरमै थाहा पाउन सक्ने भएका छौँ । तर इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग पनि बढ्दै गएको छ ।
सामाजिक सञ्जालमा अभद्र र सामाजिक टिप्पणी गर्नेहरु बढिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा केही पोस्ट गरेकै कारण कतिपय जेलसम्म पुगेका छन् ।
फेसबुक तपाईँका लागि समस्या बनेर खडा भैदिन सक्छ । त्यो पनि सानोतिनो होइन, तपाईँलाई जेलसम्म नै पुर्याउला । थाहा पाउनुहोस् फेसबुकमा पोस्ट गरेकै कारण जेल जानु परेका केही घटना :
फ्रेन्ड रिक्वेस्टले न्यायाधीशलाई पुर्यायो जेल
६ वर्ष पहिले बेलायतकी एक न्यायाधीश जोआना फ्रेलले एक आरोपितलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन् । उनलाई त्यो फ्रेन्ड रिक्वेस्ट महंगो सावित भयो । न्यायाधीश फ्रेललाई यसै कारण ८ महिनाको जेल सजाय तोकियो ।
जेमी स्टीवर्ट नामका व्यक्तिमाथि लागुऔषधको मुद्धा चलिरहेको थियो । बेलायतमा फेसबुककै कारण जेल गएको यो पहिलो घटना थियो ।
पूर्वपत्नीलाई फेसबुकमा गरेको ट्यागले एक वर्ष जेल
अमेरिकाका मारिया गोन्जालेजले जनवरी २०१६ मा आफ्नी पूर्वपत्नी मेरिवेल काल्ड्रेनको बेइज्जत गर्दै उनैलाई ट्याग गर्दै फेसबुकमा स्टाटस पोस्ट गरे । उनले पूर्वपत्नी मेरिवललाई बेवकूफ र उनको परिवारलाई सधैँ दुखी हुने परिवार भनेका थिए ।
न्यूयोर्क पोस्टमा प्रकाशित समाचारका अनुसार वेस्टचेस्टर काउन्टीका न्ययाधीशले गोन्जालेजलाई पारपाचुकेसम्बन्धी कानुनका अनुसार दोषी ठहर गरेका थिए । उनलाई एक वर्ष जेल सजाय सुनाइयो ।
लाइक बढाउन बच्चालाई झ्यालबाहिर झुन्ड्याएको तस्बिर
यसै वर्षको जुनमा अल्जेरियाका एक व्यक्तिलाई फेसबुक पोस्टकै कारण दुई वर्षको जेल सजाए सुनाइएको थियो । यी व्यक्तिले सानो बालकलाई टिशर्टमा समातेर अग्लो भवनको झ्यालबाहिर झुन्ड्याएको तस्बिर फेसबुकमा राखेका थिए ।
उनले फोटो क्यापसन राखेका थिए, ‘मलाई १ हजार लाइक चाहियो । नत्र मैले यसलाई तल खसालिदिन्छु ।’ फेसबुकमा यी व्यक्तिविरुद्ध बालकमाथि दुव्र्यवहार गरेको आरोपमा मुद्धा चलाउन धेरैले माग गरेका थिए ।
कमेन्टकै कारण राजद्रोहको मुद्धा
यो घटना थाइल्यान्डको हो । सन् २०१६ को मे महिनामा ४० वर्षकी पटनारी चंकीजविरद्ध राजद्रोहको मुद्धा लगाइयो । उनले थाइल्यान्डको राजसंस्थाको विरोध गर्ने व्यक्तिसँग निजी फेसबुकको कुराकानीमा सहमती जनाएकी थिइन् ।
यसै वर्षको जनवरीमा थाइल्यान्ड सरकारप्रति लक्षित गर्दै फेसबुकमा अपमानजनक टिप्पणी गर्ने एक जना व्यक्तिलाई ११ वर्षको जेल सजाय सुनाइएको थियो ।
बाल ठाकरेविरुद्ध पोस्टले युवती गिरफ्तार
सन् २०१२ सालमा शिवसेनाका नेता बाल ठाकरेको निधनपश्चात भएको ‘मुम्बई बन्द’ प्रति फेसबुकमार्फत प्रश्न गरेकोमा मुम्बईको पालघर क्षेत्रका दुई युवतीलाई प्रहरीले गिरफ्तार गरिएको थियो । शाहीन ठाडा र रिनु श्रीनावसनलाई पछि जमानतमा छाडिएको थियो ।
फेसबुकमा देवी देवतामाथिको टिप्पणी
भारतको उत्तर प्रदेश प्रहरीले फेसबुकमा हिन्दु देवी देवताप्रति आपत्तीजनक टिप्पणी गरेको भन्दै एक व्यक्तिलाई गिरफ्तार गरिएको थियो ।
फेसबुक अहिले वैकल्पिक समाचार माध्यमको रुपमा उदाएको छ । तर पनि फेसबुकको दुरुपयोग बढ्दै गएको छ । सामाजिक सञ्जालमा अपमानजनक शब्द लेख्नेहरु बढिरहेका छन् ।
राजनैतिक नेतृत्व तथा सार्वजनिक पद धारण गरेका व्यक्तिप्रति अभद्र टिप्पणी गरेकै कारण नेपालमै पनि केही व्यक्तिलाई पक्राउ गरिएको थियो । नेपालमा साइबर कानुन बलियो नभएकाले पनि साइबर अपराध गर्नेहरुमाथि कारबाही गर्न कठिन देखिन्छ ।
- यदि तपाईँको कोही साथीविरुद्ध अदालतमा मुद्धा चलिरहेको छ भने फेसबुकमार्फत त्यस घटनाको बारेमा जानकारी नमाग्नु ।
- कुनै मुद्धासँग जोडिएका न्यायाधीशसँग सम्पर्क गर्ने र मुद्धाका विषयमा फेसबुकमार्फत जानकारी माग्ने प्रयास नगर्नुहोला ।
- फेसबुकमार्फत कसैलाई पनि अपराधी प्रमाणित गर्ने काम नगर्नु । किनकी जबसम्म आरोप प्रमाणित हुँदैन, सबै निर्दोष हुन्छन् ।
- कुनै पनि धर्म, समुदायप्रति अपमानजनक टिप्पणी नगर्नु ।
- कसैप्रति लाञ्छना, गालीगलौज, तथा आरोप लगाउने काम नगर्नु ।
- फेसबुकमार्फत अश्लीलता फैलाउने कामले पनि तपाईँलाई जेलसम्म पुर्याउने छ ।- बिबिसी