विराटनगर । बेलायत भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् ।
बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमशृङखलाहरू नाङ्गो हुँदै गएको बताए । उनले पानीका मुहानहरू सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको उल्लेख गरे ।
‘जलवायु परिवर्तनका कारण नेपाल सङ्कटमा छ । हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति ब्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । नेपालमा क्षतिपूर्ति पाउनुपर्ने विषयमा सहयोगका लागि बेलायतसित आग्रह पनि गर्दछु ।’
त्यस्तै कोइरालाले ब्रिटिस एयरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसित आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एयरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । सो अवसरमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।