इटहरी । कवि सुरज रानाको कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन गरिएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो ।
सङ्ग्रहमा ४५ वटा कविता समावेश छन् । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना-जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरेका थिए ।
कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गरिन् । कविले आफ्नो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उदृत गरिन् ।
‘कविले आफ्नो समुदायका मुद्दा ल्याउनुपर्छ । त्यसमा सुरज सफल भएका छन्,’ उनले भनिन्, ‘लेखकलाई आफ्नोपनको छाप बनाउने चुनौती छ । म अरूभन्दा अलग हो भन्ने देखाउन चुनौतीमा हामी सबै छौँ । त्यो चुनौतीलाई चिर्नका निम्ति कवितामा आफ्नोपन आवश्यक हुन्छ ।’
कार्यक्रमको अर्को खण्डमा ‘सुरजसँग संवाद’ कार्यक्रम आयोजना गरियो । जसमा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे । कविता लेखन, सङ्ग्रह, पहिचान, सम्भव समूहलगायतबारे प्रश्नोत्तर भएको थियो ।
क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले बताए ।