ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा पक्की पुल सञ्चालनमा आएसँगै बेलिब्रिज फुङलिङ-ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी गरिएको हो ।
उत्तर-दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्रीय कार्यालयसँग अनुमति लिने काम भएको विष्टले बताए ।
यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगीनमा पुल बनाएपछि चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म बर्खामा पनि यातायात सञ्चालन गर्न सकिने दाबी कार्यालयको छ । काबेलीको बेलिब्रिज २०५६ सालमा बनेको हो ।
तत्कालीन यातायात मन्त्री बलबहादुर राईले २०५३ सालमा शिलान्यास गरेको बेलिब्रिजको २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।