पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ९ किलोमिटर लामो सुम्हालुङ मिनि म्याराथन हुने भएको छ । किराँत लिम्बू जातिको मौलिक पर्व चासोक तङनामको अवसर पारेर म्याराथन हुन लागेको हो ।
सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानको आयोजनामा पुस १३ गते म्याराथन हुनेछ । आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ ।
सुम्हालुङ मन्दिरबाट सुरु हुने म्यारथन पाँचथर क्याम्पस हुँदै, जोरसाल, पल्लोटार, वेलफेयर हुँदै पुनः सुम्हालुङ मन्दिर पुगेर समापन हुने आयोजक संस्थाका सचिव कमल लावतीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई एक हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने आयोजकको भनाइ छ ।
महिला तर्फ प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार र सान्त्वनाले एक हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सुम्हालुङ मन्दिरको प्रचार-प्रसारका साथै स्थानीय लोक संस्कृतिको संरक्षण र खेल पर्यटनको विकास गर्न मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
साथै किराँतीहरूको पर्व चासोक तङ्नामको अवसरमा केलाङ, धाननाच, बालन लगायतका बिभिन्न मौलिक लोक संस्कृतिहरू प्रस्तुत हुनेछन् । आजबाट सुरु भएको मेला पुस २० गते सम्पन्न हुनेछ ।