विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका-१ घर भएका बाबु-छोरा भक्तपुरमा मृत भेटिएका छन् । आज बिहान सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा उनीहरू मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन् । उनीहरू छुट्टाछुट्टै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
कुलप्रसादका दुई छोरा प्रवीन र मिलन चार वर्षदेखि सोही स्थानमा डेरामा बसेर अध्ययन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत नासु रहेका कुलप्रसाद केहीदिन अघि मात्रै काठमाडौं गएका थिए । काठमाडौं गएको मौकामा छोराहरूको डेरामा गएको खुलेको छ ।
जेठो छोरा मिलन फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि धारिलो हतियार प्रहार गरेर हत्या भएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।