विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीबीको योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् ।
ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापन लगायतका योजना छिटो अगाडि बढाइदिन उनले आग्रह गरेका हुन् । उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताएका थिए ।
राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने बताउँदै सिंहले मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको बताए । उनले दातृ निकासहरूसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का वडाध्यक्ष तथा भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतसँग कोइराला मन्त्रालय पुगेका थिए ।