काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्ने भएको छ । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरणसभा गर्न लागेको हो ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागेको हो । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार देश बन्दै छ, हामी बनाउँछौँ देश, बन्दैन नकरात्मकताले, अघि बढौं सकारात्मकता भन्ने सन्देश दिन र अराजकता अन्त्य गर्न जागरण सभा गर्न लागिएको हो ।
सभाअघि बिहान ११ बजे भद्रकालीबाट र्याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।
जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले जागरण सभाको संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई तोकेको थियो ।
तर उनी एसियाका राजनीतिक दलहरूको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन कम्बोडिया उडेपछि वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललाई उक्त जिम्मेवारी दिइएको छ ।