विराटनगर । प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलरका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटवार्ता गरेका छन् । टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो ।
गैरआवासीय नेपाली संघ एनआरएन तथा नेपाली काँग्रेसका नेता चिरञ्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको थियो ।
सांसद शर्माले जापानले नेपालको विकासमा ठूलो सहयोग गरेको बताउँदै जापान नेपालको ठूलो विकास साझेदार देश रहेको उल्लेख गरे । उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग शर्माले आग्रह गरेका थिए ।
शर्माले कुबोटालाई बुद्धको देश नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताए । ‘तपाईँ नेपाल आउनु भयो भने बुद्धको जन्मस्थल लुम्बिनीमा लगेर तपाईंसँगै म पनि ध्यान गर्छु । त्यसबाट शान्ति र आनन्द प्राप्त हुन्छ’, शर्माले भने ।
भेटमा मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई, नेपाली जनसम्पर्क समितिका सह-महामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।