काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेर अराजकता फैलाएको भन्दै युट्युब च्यानललाई कारबाही गरेको छ ।
कारबाहीमा परेका नौ युट्युब च्यानल मध्ये दर्ता र सूचीकृत विना चलेका तीन वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ ।
सूचीकृत भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।
काउन्सिलले पछिल्लो समयमा कार्यविधि बनाइ कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।
केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारबाही गरेको काउन्सिलले जनाएको हो ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । प्रेस विज्ञप्तिमा कारबाहीमा परेका माध्यमहरूको विवरण समेत राखिएको छ ।