विराटनगर । नेपालले आजबाट वंगलादेशलाई विजुली बेच्दैछ । भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र सहायक कम्पनीमार्फत बनाइएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विजुली बंगलादेशलाई बिक्री गर्न लागिएको हो ।
यसका लागि गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । आज दिउँसो १२ः४५ बजे विजुली बेच्ने प्रकृयाको तीन वटै देशका ऊर्जामन्त्रीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बेच्ने सम्झौता छ । सोही कारण यो वर्ष आज मात्र विजुली बिक्री हुनेछ ।
आज ११ घण्टा बिजुली बिक्री गर्दा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ । आज बिक्री गरेपछि पुनः अर्को वर्ष मात्र विजुली निर्यात हुनेछ । बंगलादेशलाई बिजुली बेच्दा नेपाललाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने प्रधिकरणको आकलन छ ।
प्राधिकरणका अनुसार कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । विजुली बिक्री बापट प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर नेपाल भित्रनेछ ।